२०८२ भदौ २८, शनिवार , ०३:२०:३१ बजे

Sajhamanch
'

उपाध्यक्ष शाक्यलाई एमाले कार्यवाहक अध्यक्ष बनाउन लविइङ सुरु !

शनिवार, भदौ २८, २०८२

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका युवा नेताहरूले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा पार्टीलाई पुनर्जीवन र पुनर्गठन गर्ने बहस चलाउन थालेका छन् । केही केन्द्रीय सदस्यहरूले थालेको यो बहस बिस्तारै देशव्यापी लैजाने तयारी छ ।

अकल्पनीय आन्दोलन र त्यसको सन्देश बुझ्दै पार्टीमा निरन्तर क्रियाशीलता, बेदाग व्यक्तित्व र आदर्शबाट च्युत नभएका नेता खोज्दा शीर्ष तहमा अष्टलक्ष्मी शाक्य सबैभन्दा योग्य रहेको केन्द्रीय सदस्य ईश्वरी जिएमको भनाई छ ।

विघटित प्रतिनिधि सभा सदस्यसमेत रहेकी जिएमले अहिले एमालेमा नयाँ ढंगले पुनर्गठन गरेर जनतामा जानका लागि माथिल्लो तहमा अष्टलक्ष्मी नै उपयुक्त पात्र देखिएकोले बहसमा लैजान खोजिएको बताइन् ।

देशभर कार्यकर्ताको भावना बुझेरै रचना खड्का लगायत नेताले पनि यो अभियानमा साथ दिएका छन् । बिस्तारै यसलाई पार्टीभित्र र बाहिर बहसको विषय खोजिएका उनीहरूको भनाइ छ ।

एमाले उपाध्यक्ष शाक्य पदमा बस्दा पनि कहिल्यै विवादमा नपरेकी र सुशासनको सन्दर्भमा पनि पारदर्शी नेता हुन् । पार्टी निर्माण र विस्तारका साथै नयाँ र पुराना पुस्ताको कडीका रूपमा शाक्यलाई अघि बढाउन पदाधिकारी तहका नेताहरू समेत सकारात्मक बन्ने उनीहरूको भनाइ छ ।

शाक्य आफैँले भने आफ्नो पुस्ताका नेताहरू बिदा भएर नयाँलाई अघि सार्ने धारणा राख्दै आएकी छन् । उनी पार्टीभित्र आलोचनात्मक चेतको विकास हुनुपर्ने पक्षमा उभिने गरेकी छन् । विधानबाट २ कार्यकाल र ७० वर्षे उमेर हद हटाउने कुराको विपक्षमा उभिएकी शाक्य विद्या भण्डारीको पुनरागमनको पनि विपक्षमा थिइन् ।

पार्टीमा महिलाले नेतृत्व गर्ने हो भने पनि शाक्य नै उपयुक्त भएका महिला युवा नेताहरूको भनाइ छ । एक पटक मन्त्री र बागमती प्रदेशको मुख्यमन्त्री भएकी शाक्य उपराष्ट्रपति पदको उम्मेदवार बनेकी थिइन् ।