२०८२ भदौ २६, बिहिवार , ०४:१७:४३ बजे

Sajhamanch
'

‘संविधानको दायरामा रही निकास दिन हर प्रयास भइरहेको छ, संयमतापूर्वक सहयोग गरौं’ : राष्ट्रपति पौडेल

बिहिवार, भदौ २६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधानको खोजी भइरहेको विश्वस्त गराएका छन् ।

आज विज्ञप्ति जारी गर्दै पौडेलले देशको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रही कसरी निकास दिन सकिन्छ भनेर विचार विमर्श र हर प्रयासमा रहेको विश्वस्त पारेका छन् ।

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई संयमता अपनाउन उनले अपीलसमेत गरेका छन् ।

राष्ट्रपति पौडेलले भनेका छन्- देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपील गर्दछु ।