
काठमाडौं । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको छ । अहिले नेपाली सेनाको मुख्यालयमा जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयलाई लिएर प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले कार्की नयाँ नेतृत्वमा आउन नहुने भन्दै विरोध गरिरहेका हुन् । उता, कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले समेत समर्थन जनाइसकेका छन् ।
तर, जंग्गीअड्डामा उपस्थित भीडले भने मेयर बालेनलाई नै अघि बढाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।
संवेदनशील समयमा विकास हुने घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्नसक्ने इमान्दार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले कार्कीको नाम प्रस्ताव गरिएको बताइएको छ ।
बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन् ।
बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।
धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ । मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन भनेका थिए ।
बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए । उनले संयोजक समेत तोकेर आउन आग्रह गरेका थिए । त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो ।
त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । त्यही कारण रक्षा बमसहितको समूह बाहिरिएको थियो । यद्यपि, अन्तिममा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति भएको थियो ।