
झापा । खाडीमा पेट्रोलियम निर्यात गर्ने देशहरूको सङ्गठन र त्यसका सहयात्री देशहरूको समूह (ओपेक प्लस) ले आउँदो अक्टोबर महिनादेखि तेल उत्पादन बढाउने भएको छ ।
ओपेक प्लसले भर्चुअल बैठक गरी अक्टोबरदेखि दैनिक १ लाख ३७ हजार ब्यारेलभन्दा धेरै कच्चा तेल उत्पादन गर्ने निर्णय गरेको हो । साउदी अरेबिया, रसिया, इराक, संयुक्त अरब राष्ट्र, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमान गरी ८ वटा देशले विश्व बजारको पछिल्लो अवस्था र भावी सम्भावनाको समीक्षा गरेपछि उत्पादन बढाउने निर्णय गरेका हुन् ।
यसअघि सन् २०२१ को मार्चमा उत्पादन कटौती गरेकोमा त्यो कटौती सन् २०२६ को अन्त्यसम्म लागू हुने गरी लम्ब्याइएको थियो । तर अहिलेको अवस्था विश्लेषण गरी उत्पादन बढाउने निर्णय गरेको ओपेक प्लसलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
ओपेकले विश्वको आर्थिक अवस्था स्थिर रहेको र बजारको अवस्था सन्तुलित रहेको उल्लेख गरेको छ । तेलको भण्डारण न्यून रहेकोले बजारमा सुधारको सङ्केत देखिएको ओपेकको भनाइ छ ।