
विराटनगर । सुनसरीको झुम्का कारागारमा एकै पटक तीन वटा रोगको सङ्क्रमण फैलिएको छ । चार दिनको अवधिमा तीन जना कैदीको मृत्यु भएपछि कैदी बन्दीहरूमा गरिएको स्वास्थ्य परीक्षणमा एकै पटक तीन वटा रोगको प्रकोप फैलिएको पुष्टि भएको हो ।
कैदीबन्दीहरुमा उच्च ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएपछि बुधवार कारागारमा स्वास्थ्य शिविर चलाइएको थियो । स्वास्थ्य शिविरबाट ६३ जना कैदी बन्दीको नमुना सङ्कलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
नमुना परीक्षणबाट कैदीहरूमा स्क्रपटाइफस, डेंगु र इन्फ्लूएन्जाको प्रकोप रहेको पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले केही कैदी, बन्दीहरूमा जापानजी इन्सेफ्लाइटिसको आशङ्का गरिए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको बताउनु भयो ।
चिकित्सकका अनुसार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग किर्नाजस्तो देखिने कीरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ ।
यो रोग ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । यो जीवाणु मुसाको शरीरमा पाइने माइट हुन्छ । सङ्क्रमित कीराले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ । यो रोग सङ्क्रमित कीराको टोकाइबाट मानिसमा सर्ने विराट शिक्षण अस्पतालका चिकित्सक डा. देवराज घिमिरेले जानकारी दिनुभयो ।
स्क्रब टाइफस भएको व्यक्तिले उपचार गर्न ढिलाइ भए ज्यान जाने बढी खतरा हुने घिमिरेको भनाई छ । यस्तै, डेंगु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । इन्फ्लूएन्जा एक सङ्क्रामक भाइरल सङ्क्रमण हो, जसले श्वासप्रश्वासको रोग निम्त्याउँछ ।
सामान्यतया फ्लु भनेर चिनिने यो रोग माथिल्लो वा तल्लो श्वासप्रश्वास मार्गमा फैलिएर घाँटी, फोक्सो र नाकमा आक्रमण गर्न सक्ने चिकित्सक घिमिरेले बताउनु भयो । घिमिरेले भन्नुभयो, ‘इन्फ्लूएन्जा भाइरस सङ्क्रमित व्यक्तिले हाच्छ्युँ गर्दा, कुरा गर्दा वा खोक्दा हावाको माध्यमबाट भाइरस सर्छ ।’
कारागार प्रशासन तथा स्वास्थ्य परीक्षणमा खटिएका चिकित्सकले भाइरल ज्वरोको आशङ्का गरे पनि यी तीन वटा रोगको प्रकोप फैलिएको पुष्टि भएपछि अब त्यही अनुसार परीक्षण तथा उपचार व्यवस्था मिलाइने झुम्का कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।
कारागारमा अत्यधिक कैदी बन्दी र फोहोर रहेकाले रोगको सङ्क्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । झुम्का कारागारको १ हजार ६०० क्षमता रहेको छ । अहिले त्यहाँ रहेका ए र बी गरी दुवै ब्लकमा १ हजार ७९८ जना कैदीबन्दी छन् ।
क्षमता भन्दा बढी कैदी बन्दी भएका कारण रोगको सङ्क्रमण फैलिएको चिकित्सकहरूले बताएका छन् । कारागारमा रहेका तीन सय भन्दा बढी एकै पटक बिरामी भएपछि त्रास फैलिएको छ ।
यस्तै कारागारमा रहेका तीन जना कैदीको चार दिनको अवधिमा मृत्यु भएको छ । कारागारमा रहेका दुई दर्जन बिरामीलाई उपचारका लागि बिपी प्रतिष्ठान धरान लगिएकोमा अधिकांश उपचार पछि फर्किएका छन् ।
केहीको भने अझै उपचार भइरहेको छ । जेलर लामिछानेका का अनुसार अहिले पनि केही कैदी बन्दीको जिल्ला अस्पताल इनरुवा र बिपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।