
काठमाडौं । केही वर्षदेखि सामाजिक सञ्जालमा चर्किएको युवाको आन्दोलन सडकमा ओर्लिएको छ । इन्टरनेटको विकाससँगै हुर्किएको पुस्ता अर्थात् सन् १९९० को दशकको मध्यपछि जन्मिएको पुस्तालाई ‘जेन जी’ भनेर चिनिन्छ । त्यही पुस्ताको आन्दोलन सरकारले सामाजिक सञ्जाल निष्क्रिय पारेपछि सडकमा आएको हो ।
यो पुस्ताले केही वर्षदेखि भर्चुअल माध्यमबाट भ्रष्टाचार, कुशासन र विकासमा भएको अवरोधको विरोध गर्दै आएको थियो । विश्वव्यापी प्रभावलाई पछ्याइरहेको पुस्ता वाक स्वतन्त्रता, विकासमा आधुनिकता, भ्रष्टाचारविरुद्धको कारबाहीको पक्षमा सामाजिक सञ्जालमार्फत सशक्त प्रस्तुत भइरहँदा त्यसको असर राजनीतिमा पनि पर्न थालिसकेको थियो ।
काठमाडौं महानगरमा बालेन्द्र शाहको जीतदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतमा पनि यही पुस्ताको आन्दोलनले भूमिका खेलेको हो । कुनै दलप्रति बफादार रहेका वा दलमार्फत सुविधा लिइरहेका भन्दा बाहेक धेरै अभिभावकलाई ‘जेन जी’ पुस्ताका सन्तानले परिवर्तनबारे सम्झाइसकेका छन् ।
भर्चुअल माध्ययमबाट कुरा राख्न पाउँदासम्म त्यतै रहेको पुस्ता सरकारले सञ्जाल बन्द गरेपछि त्यही आवाजसहित सडकमा आएको छ ।
अभियान शुरू गर्नेहरूले टिकटकजस्ता वैकल्पिक डिजिटल मञ्चसहित सरकारले निष्क्रिय पारेका फेसबुकलगायतका माध्यमसमेत प्रयोग गरेर देशमा विद्यमान राजनीतिक भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका थिए ।
केही युवाले लाभको पदमा पुगेका नेताहरूले स्वार्थपूर्वक आफ्ना सन्तानलाई फाइदा पुर्याएको तर देशका लागि काम नगरेको भन्ने आशयसहित ‘नेपो बेवी’ ट्रेन्ड पनि शुरू गरेका छन् ।
‘जेन जी’ को प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहित कैयौं राजनीतिज्ञले पनि समर्थन गरेका छन् । चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित चर्चित कालाकारहरूले पनि ऐक्यबद्धता व्यक्त गरेका छन् ।
‘जेन जी’ पुस्ताले सिंहदरबार नजिकै रहेको माइतीघर मण्डलाबाट शुरू गरेको प्रदर्शन कानून बनाउने थलो नयाँ बानेश्वरको संसद् भवनसम्म पुगेको छ । प्रदर्शनमा काठमाडौंमा उल्लेख्य सहभागिता छ भने पोखरा, बुटवल, विराटनगर लगायतका शहरमा पनि प्रदर्शन भएको छ ।
‘जेन जी’ ले सामाजिक सञ्जालको भित्तामा गरिरहेको प्रश्न र विरोधभन्दा सडकमा उभिएर गरेको प्रश्न र विरोध शक्तिशाली हुन्छ । युवापुस्ताको सडक उपस्थिति असन्तुष्टिको अभिव्यक्ति मात्र हैन यो लोकतन्त्र पुनर्जीवित गर्ने अवसर पनि हो ।
अहिले शक्तिको केन्द्रमा रहेको पुस्ताको सोचभन्दा ‘जेन जी’ को सोच निकै फेरिएको छ । संसारका माग फेरिएका छन् । बाँच्ने तरिका फेरिएको छ । समाजले हेर्ने दृष्टिकोण फेरिएको छ । प्रविधिले काम गर्ने तरिकामा पूरै बदलाव ल्याएको छ । तै पनि पुरानो पुस्ताले अहिलेको अवस्थालाई ख्याल नगरी आफ्नो पुरानै शैली प्रयोग गरिरहेको बेला भएको ‘जेन जी’ पुस्ताको कुरा सुन्नुपर्छ र मनन गर्नुपर्छ ।