
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नगर्न अनुरोध गरेको छ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरैजसोले भीपीएनको प्रयोग गरिरहेकोमा मन्त्रालयले विज्ञप्ति निकालेर असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएनको प्रयोग नगर्न अनुरोध गरेको हो ।
इन्टरनेट प्रयोग गर्दा वास्तविक ठेगाना लुकाएर अरू ठाउँबाट सामाजिक सञ्जाल चलाएको जस्तो देखाउने प्रविधि भीपीएन हो । सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा सङ्कुचन गर्न नखोजेको र स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न खोजेको सरकारको भनाइ छ । सञ्चार मन्त्रालयका अनुसार पछिल्लो समय हाम्रो पात्रो र ग्लोबल डायरी दर्ता भइसकेका छन् भने एक्स र विच्याटले आवश्यक विवरण माग गरेका छन् ।