२०८२ भदौ २०, शुक्रवार , ०२:३१:३६ बजे

Sajhamanch
'

वर्ल्ड लिङ्कले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्‍यो

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । वर्ल्ड लिङ्कले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ । वर्ल्ड लिङ्कले आज बिहान सूचना निकालेर नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम दर्ता नभएका प्लाटफर्म बन्द गरिएको जनाएको छ ।

यद्यपि, टिकटक, भाइबरलगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लाटफर्म भने चलाउन सकिने वर्ल्ड लिङ्कले जनाएको छ । यसअघि नेपाल टेलिकमले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लाटफर्महरु बन्द गरिएको जनाएको थियो ।

त्यस्तै दर्ता नभएका सामाजिक सञ्जाल प्लाटफर्म एनसेलको इन्टरनेट सेवाबाट पनि नचल्ने एनसेल आजियाटा लिमिटेडले हिजो नै सूचना निकालेर जानकारी दिएको थियो । नेपालमा फेसबुकको यूआरएल बन्द गरिएको छ । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।