
झापा । बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकालाई इनर्जी ड्रिङ्क्समा प्रतिबन्ध लगाउने भएको छ । सरकारले १६ वर्षमुनिका बालबालिकालाई पसल, रेस्टुरेन्ट, क्याफे, भेन्डिङ मेशिन र अनलाइनबाट रेड बुल, मोन्स्टर र प्राइम जस्ता इनर्जी ड्रिङ्क्स किन्नबाट रोक्न कानून बनाउने योजना बनाइरहेको बीबीसीले जनाएको छ ।
धेरैजसो सुपरमार्केटहरूले स्वैच्छिक प्रतिबन्ध लागू गरेका भए पनि बेलायतका एक तिहाइ बालबालिकाले हरेक हप्ता यस प्रकारका इनर्जी ड्रिङ्क्स प्रयोग गर्ने गरेको मानिन्छ ।
यीमध्ये केही लोकप्रिय पेय पदार्थहरूमा दुई कप कफीभन्दा धेरै क्याफिन हुने गरेको छ । यिनीहरूको अत्यधिक प्रयोगले टाउको दुख्ने र निद्रा नलाग्ने समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन् ।
यस्तै धेरै क्याफिनले मुटुको धड्कन छिटो हुने, मुटुको असामान्य लय र हृदयघात निम्त्याउन सक्छ । दुर्लभ भए पनि अत्यधिक क्याफिनको प्रयोगसँग सम्बन्धित केही मृत्युहरू भएका छन् ।
स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव वेस स्ट्रिटिङले अभिभावक, शिक्षक र बालबालिकाहरूले सरकारलाई यसबारेमा कदम चाल्न आह्वान गरेका बताउनुभएको खबरमा उल्लेख छ ।
इनर्जी ड्रिङ्क्समाथि प्रतिबन्धका लागि कुनै आधिकारिक मिति तय नगरिएको र लेबर पार्टीले पहिले वाचा गरेको यस संसद्को अन्त्यभन्दा अघि नै आउने सचिव स्ट्रिटिङले भन्नुभएको छ ।