२०८२ भदौ १८, बुधवार , ०३:२५:४४ बजे

Sajhamanch
'

चीनको सैन्य परेडमा विभिन्न नयाँ अस्त्र प्रदर्शन, कुनै पनि धम्कीबाट नडराउने राष्ट्रपति सीको उद्घोष

बुधवार, भदौ १८, २०८२

झापा । चीनले राजधानी बेइजिङमा भव्य सैन्य परेडका बीच नयाँ अस्त्रहरू प्रदर्शन गरेको छ । चीनले पहिलो पटक सार्वजनिक गरेका नयाँ अस्त्रहरूमा लेजर हतियार, परमाणुअस्त्र बोक्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र र पानीमुनि प्रयोग गरिने विशाल ड्रोनहरू पनि छन् ।

चीनले आफूले बनाएको अन्तरमहादेशीय परमाणु ब्यालेस्टिक क्षेप्यास्त्रको नयाँ संस्करण प्रदर्शन गर्‍यो । जसले १२ वटासम्म युद्धशीर्ष बोक्न सक्छ । परेडमा प्रदर्शित दोङ्फेङ–फाइभ क्षेप्यास्त्र अन्तरमहादेशीय रणनीतिक परमाणु अस्त्र हो । तरल इन्धनबाट चल्ने यो क्षेप्यास्त्र अमेरिका र पश्चिम युरोपसम्म प्रहार गर्न सकिने गरी ठूला परमाणुअस्त्र बोक्न सक्षम रहेको छ । ध्वनिको गतिभन्दा पाँच गुना बढी गतिमा यात्रा गर्ने हाइपरसोनिक क्षेप्यास्त्र निर्माणमा चीनलाई अग्रणी मानिन्छ ।

चीनले आर्टिफिसिएल इन्टेलिजेन्स र स्वचालित अस्त्रमा समेत व्यापक लगानी गरेको छ । तर अझै पनि परमाणुअस्त्रमा रुस र अमेरिकाभन्दा चीन धेरै पछाडि छ ।

चीनले जापानविरुद्ध भएको लडाइँ तथा दोस्रो विश्वयुद्ध टुङ्गिएको ८०औं वार्षिकोत्सवका अवसरमा भिक्टरी डे परेड आयोजना गरेको हो । हजारौं सैनिक सहभागी परेडको झन्डै ५० हजार आमन्त्रित दर्शकले अवलोकन गरेका बीबीसीले जनाएको छ ।

परेड समारोहमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन अब कहिल्यै पनि कुनै पनि धम्कीबाट नडराउने र सधैँ अगाडि बढ्ने बताउनुभयो । समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ–अनसहित २६ देशका सरकार तथा राष्ट्रप्रमुख सहभागी भए । सी, पुटिन र किम सँगसँगै एउटै कार्यक्रममा उपस्थित भएको यो पहिलो अवसर हो ।

सम्बन्धित खबर