
झापा । चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बेइजिङको तियानमेन चोकमा आयोजित भव्य सैन्य परेडमा विश्वले अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको सामना गरिरहेको चेतावनी दिनुभएको छ । उहाँले मानव सभ्यता जोगाउन चिनियाँ नागरिकले गरेको बलिदानबारे चर्चा समेत गर्नुभयो ।
दोस्रो विश्वयुद्धको ८० वर्ष पूरा भएको अवसरमा आयोजित ‘विजय उत्सव’ कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ–उनसहित विश्वका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख अतिथि बन्नुभएको थियो । सी, पुटिन र किम सँगसँगै एउटै कार्यक्रममा उपस्थित भएको यो पहिलो अवसर हो ।
सैन्य शक्ति र कूटनीतिक प्रभाव प्रदर्शनका रूपमा गरिएको ७० मिनेट लामो परेडमा क्षेप्यास्त्र, ट्याङ्क, ड्रोनलगायत अत्याधुनिक हतियार प्रदर्शन गरियो । माओ त्से तुङले लगाउने शैलीको सुटमा देखिएका राष्ट्रपति सीले खुला गाडीमा सैनिक निरीक्षण गर्दै उपस्थित ५० हजारभन्दा धेरै दर्शकलाई सम्बोधन गर्नुभएको थियो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि अवलोकनमा सहभागी हुनुभयो । औपचारिक समारोहपछि चिनियाँ राष्ट्रपति सीले दिवाभोज आयोजना गर्नुभएको छ । दिवाभोजपछि प्रधानमन्त्री ओली आजै स्वदेश फर्कनुहुनेछ ।