
झापा । आइटी पढेर पनि रोजगारीका लागि युवा विदेशिई रहेको परिप्रेक्ष्यमा काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने उद्देश्यले झापामा नयाँ अवसर सिर्जना गरिएको छ ।
झापाको बिर्तामोडमा सोमबार एक कार्यक्रम गरी व्यावसायिक अनलाइन पोर्टल ‘यहाँछ डटकम’ सार्वजनिक गर्दै सिप भएका जनशक्तिलाई घरमै बसेर काम गरी आम्दानी गर्ने अवसर दिन लागिएको हो । पहिलो नेपाली फ्रिलान्स प्लेटफर्म दावी गरिएको ‘यहाँछ डटकम’ सार्वजनिक गर्ने समारोहको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले समुद्घाटन गरिदिनु भयो ।
रुटदेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालिले निर्माण गरेको व्यावसायिक अनलाइन पोर्टल ‘यहाँछ डटकम’ प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्ने र सो क्षेत्रबाट सेवा लिन सकिने अवसरका रुपमा विकास गरिएको यसका मुख्य निर्माणकर्ता रविन थापाले जानकारी दिनुभयो ।
प्रविधिसँग सम्बन्धित कुनै पनि सेवाका लागि काम गर्नुपरे वा गराउनु परेमा यो प्लेटफर्मको प्रयोग गर्न सकिने थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ल्यापटप र इन्टरनेट हुने जोकोहीले कुनै पनि ठाउँमा बसेर आफ्नो सीप प्रस्तुत गर्न र पैसा कमाउन सकिनेछ ।
स्वदेशमा रोजगार छैन भन्नेहरुलाई लक्षित गर्दै उहाँले प्राविधिक ज्ञान भएमा विदेशमा गएर गरिने आर्जन घरमै बसेर गर्न सकिने पनि अवगत गराउनु भयो ।
सन् २०१६ देखि अन्तर्राष्ट्रियस्तरमा सेवा गर्दै आएको कम्पनीले नेपालभरका लागि नयाँ कार्यक्रम ल्याएको हो । अनलाइन सेवामार्फत गरिने काममा भुक्तानी खल्तीबाट गर्ने व्यवस्था मिलाइएको सो कार्यक्रममार्फत थापाले जानकारी दिनुभयो ।
रुटडेब्स बंगालादेशका सिइओ मोहम्मद इलासले नेपालका ७ जना युवाको समूहले सुरु गरेको यसप्रकारको सेवामुलक व्यवसायको सफलताको शुभकामना व्यक्त गरे ।
रोजगारी र सीप दुवैको संयोजन गरी सबै पक्षले आर्थिक लाभ लिन सकिने एप सार्वजनिक गरेर झापाली युवाले नेपालमै सम्भावना देखाउन गरेको प्रयासको कार्यक्रमका प्रमुख अतिथि प्रसाईंले प्रशंसा गर्नुभयो ।
गर्न चाहेमा हाम्रा वरिपरी प्रसस्त सम्भावनाहरु छन्, सिप र आत्मविश्वास भएका मानिसले काम खोज्न विदेश जानै पर्दैन भन्ने उदाहरण रुटडेब्स कम्पनीले प्रस्तुत गरेको नगरप्रमुख प्रसाईको भनाई छ ।
कम्पनीका सल्लाहकार रविन चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा उक्त कार्यक्रम निर्माणका लागि आवश्यक सहयोग गर्ने युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान गरिएको थियो । पत्रकार रमेश तिवारीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका नविन भण्डारीले स्वागत गर्नुभएको थियो ।