
झापा । चीनमा चलिरहेको क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत २० वटा देशका नेताहरु सहभागी भएका छन् । त्यस क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष वार्ता गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदी झन्डै ७ वर्षपछि चीन पुग्नु भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कठोर व्यापारिक शुल्क लगाएका बेला यो शिखर सम्मेलन भएको छ । त्यस कारणले भारतका लागि यो सम्मेलन अझ अर्थपूर्ण मानिएको बीबीसीले जनाएको छ ।
यसैबीच चिनिया राष्ट्रपति सी जिनपिङले क्षेत्रीय शान्ति र स्थायित्वको रक्षा गर्न शिखर सम्मेलनले ठूलो जिम्मेवारी बहन गरिरहेको बताउनुभएको छ । उहाँले बढ्दो अनिश्चितता र तीव्र परिवर्तनको संसारमा विकासलाई बढावा दिनु महत्त्वपूर्ण भएको बताउनुभएको चिनिया समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
आजसम्म चल्ने शिखर सम्मेलनमा भाग लिन चीनको बन्दरगाह शहर तियान्जिनमा पुगेका अन्तर्राष्ट्रिय पाहुनालाई स्वागत गर्न आयोजित रात्रिभोजमा सीले यस्तो बताउनुभएको हो ।
सीले सबै पक्षको संयुक्त प्रयासबाट शिखर सम्मेलन पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गर्दै एससीओले अझ ठूलो भूमिका खेल्ने र थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सम्मेलनले सदस्य राष्ट्रहरूबीच एकता र सहयोग बढाउने, शक्ति एकत्रित गर्न र मानव सभ्यताको थप प्रगतिका लागि कोशेढुङ्गा बन्ने बताउनु भएको खबरमा उल्लेख छ ।