
काठमाडौं । गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर कूल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर २०७ जनाको निधन भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, विपद्मा परेर २२ जना बेपत्ता भए भने ७७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कूल एक हजार १९७ आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन हुँदा १६५ घाइते भएका छन् ।
बाढीका २४३ घटना हुँदा २७ जनाको ज्यान गएको छ भने २२ बेपत्ता र १० घाइते भएका छन् । बाढीमा परेर एक हजार ७७८ परिवार प्रभावित भएका छन् । सो अवधिमा ३६८ ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर १८ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । पहिरोका कारण ४१ परिवार प्रभावित भएका छन् ।
यस्तै, २६६ वटा भारी वर्षाका विवरण प्राधिकरणले उपलब्ध गराएको छ । भारी वर्षाका कारण छ जनाको ज्यान जाँदा १२ घाइते भएका छन् भने ७११ परिवार प्रभावित भएका छन् । कूल २५८ चट्याङका घटना हुँदा ३१ जनाको ज्यान गएको छ । त्यसमा परेर १९३ जना घाइते भएका छन् भने ३१७ घरपरिवार प्रभावित भएका छन् ।
यसैगरी सर्पदंशका २६८ घटना हुँदा ७२ जनाको ज्यान गएको छ । २०२ जना घाइते हुँदा २७२ घरपरिवार प्रभावित भएका छन् । कूल १५८ वटा वन डढेलोको घटना हुँदा दुई जना घाइते र २७ परिवार प्रभावित भएका छन् ।
हावाहुरीका २८० घटना हुँदा आठ जनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन् । त्यसबाट ५३६ घरपरिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार जनावर आक्रमणको घटनामा १५ जनाको निधन भएको छ । लेक लाग्नुका ४९, भूकम्प पाँच, डुङ्गा पल्टेर दुई असिना हुरी, असिना र महामारीका एक/एक घटना घटेका छन् । प्राधिकरणले विपद्सँग जुध्नका लागि आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह गर्नुका साथै आवश्यक तयारी समेत गरेको छ ।