२०८२ भदौ १२, बिहिवार , ०५:०६:५६ बजे

Sajhamanch
'

चीनको सैन्य परेडमा किम जोङ र पुटिन सँगै देखिँदै

बिहिवार, भदौ १२, २०८२

झापा । चीनको सैन्य परेडमा उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँगै देखिने भएका छन् । आउँदो सेप्टेम्बर ३ मा हुने सैन्य परेडमा उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनले भाग लिने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

यो किमको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय बैठक हुनेछ । चीनको नेतृत्वमा नयाँ विश्व व्यवस्थाका लागि जोड दिइरहनुभएका राष्ट्र सी जिनपिङका लागि यो कार्यक्रम कूटनीतिक जीत हुने बीबीसीले लेखेको छ ।

अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्न रुससँग सम्झौता प्रयास गरिरहेका बेला सैन्य परेडले चिनियाँ राष्ट्रपति सीलाई पुटिन र किम दुवैमाथि सीमित भए पनि आफ्नो प्रभाव सङ्केत गर्न अनुमति दिने खबरमा उल्लेख छ ।

चीनको सैन्य परेडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहभागिता रहने छैन तर यस हप्ताको शुरूमा उहाँले उत्तर कोरियाली नेता किमलाई भेट्न चाहेको बताउनुभएको थियो ।

किमको बढ्दो आणविक हतियार र रुसलाई गरेको समर्थनले पश्चिमा जगतलाई त्रसित बनाएको छ ।

पुटिन र किमसहित २६ अन्य राष्ट्रप्रमुखहरूले परेडमा भाग लिने अपेक्षा गरिएको छ । सन् १९५९ पछि उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा भाग लिएको यो पहिलो पटक हो ।

सैन्य परेडमा चीनले सयौं विमान, ट्याङ्क र एन्टी–ड्रोन प्रणालीसहित आफ्नो नवीनतम हतियार प्रदर्शन गर्ने सम्भावना छ । यस्तै चिनियाँ सेनाको नयाँ बल संरचना पहिलो पटक परेडमा पूर्णरूपमा प्रदर्शन गरिनेछ ।

राष्ट्रपति सीले निरीक्षण गर्ने ७० मिनेट लामो परेडलाई विश्लेषक र पश्चिमी शक्तिहरूले नजिकबाट हेर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर