२०८२ भदौ १२, बिहिवार , १०:३२:४४ बजे

Sajhamanch
'

साउनमा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपियो

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गएको साउन मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब २ करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।

यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव २६ प्रतिशत छ भने आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ७४ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण उठाइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ७ दशमलव ४८ प्रतिशत बराबर रहेको छ ।

त्यस्तै चालू आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि छुट्याइएको बजेट ८ दशमलव ९३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर