
काठमाडौं । अमेरिकाले भारतमाथि लगाएको थप २५ प्रतिशत कर लागू भएको छ । रुससँग पेट्रोलियम पदार्थ किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै घोषणा गर्नुभएको थप भन्सार कर आजदेखि लागू भएको हो ।
अब अमेरिकामा भारतबाट आयात हुने सबै सामाग्रिमा ५० प्रतिशत भन्सार कर लाग्छ । भारतले अमेरिकाको यो निर्णयलाई अनुचित भन्दै प्रतिक्रिया जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । यसअघि २५ प्रतिशत भन्सार दर लागू भएको थियो । थप २५ प्रतिशत दर इलेक्ट्रोनिक्स र औषधीजन्य वस्तुबाहेक सबै भारतीय सामानमा लागू हुनेछ ।
भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले करको बोझ कम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तर पछिल्लो कदमले भारत र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई बिगार्न सक्ने विश्लेषण गरिएको छ । अमेरिकाले रुसलाई आर्थिक रूपमा कमजोर बनाउनका लागि भारतमाथि कर लगाउनु परेको बताएको छ ।
तर भारतले अमेरिकाले भन्सार लगाए पनि आफ्नो देशको उर्जा आवश्यकता पूरा गर्नको लागि रुसबाट पेट्रोलियम पदार्थ आयात नरोक्ने बताएको छ । युक्रेनसँगको युद्धपछि पश्चिमाहरुले रुसी तेलमाथी प्रतिबन्ध लगाएका थिए । त्यसपछि रुसले सस्तोमा तेल उपलब्ध गराएपछि भारतले आफ्नो बजार मागको ठूलो भाग रुसबाट आयात गरिरहेको छ ।