
वराहक्षेत्र । सप्तकोशी नदीको बाढी र कटानको उच्च जोखिममा वराहक्षेत्र मन्दिर पर्दै आएको छ । हरेक वर्षामा सप्तकोशीमा आउने बाढीसँगै धर्तीकै पहिलो तीर्थ वराहक्षेत्र मन्दिर र जोडिएको बस्ती उच्च जोखिममा पर्दै गएको हो । बर्खामा नदीले पूर्वी र कोका खोलापट्टिको साइटबाट उत्तरी सिँढीसम्म बाढी आउने गरेको छ ।
वराहक्षेत्र नगरपालिका–१ मा अवस्थित तीन हजार वर्षअघिको इतिहास बोकेको वराहक्षेत्र मन्दिर जोखिममा पर्दै आएको छ । सप्तकोशी र कोकाह नदीको सङ्गमबाट करिब ३०० फिटमाथि रहेको मन्दिरमा प्रत्येक वर्ष आउने बाढीले पूर्वी किनारमा धक्का दिँदै आएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षदेखि बाढीको उच्च जोखिममा परेको मन्दिर र मन्दिरपरिसरको बस्तीलाई जोगाउन तीनै तहका सरकारसँग हारगुहार गरिरहेका छौँ । मन्दिरको संरक्षण गर्न डिपिआर नै तयार गरेर बाढीबाट मन्दिरलाई जोगाउन जरुरी छ ।” नदीको कटान सामान्य रोकथाम हुँदै आए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने उहाँको भनाइ छ ।
गत वर्ष असोजमा आएको बाढीले मन्दिर क्षेत्रमा रहेको वराह श्राद्धस्थल, गणेश मन्दिर, शनि मन्दिर, साकेला पार्क र शौचालयमा बाढीले क्षति पुर्याएको थियो । मन्दिरपरिसरसँगै जोडिएको १५० घरपरिवारसमेत बाढीको उच्च जोखिममा पर्दै आएको वराहक्षेत्र–१ का वडा सदस्य कुमार भट्टराईले बताउनुभयो । तीन पुस्तादेखि बसोबास गर्दै आएको बस्ती नदीको जोखिममा पर्दै जाँदा स्थानीय चिन्तित बनेका छन् । किनार क्षेत्रमा दिगो तटबन्ध हुन नसक्दा मन्दिर र बस्ती जोखिममा परेको हो ।
धर्तीको पहिलो तीर्थ पुण्यभूमि मानिने वराहक्षेत्र मन्दिर संरक्षणका लागि दिगो तटबन्ध नभए वराहक्षेत्रको अस्तित्व इतिहासमा मात्र रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो । १५ औँ शताब्दीको इतिहास तथा प्राचीन मूर्ति रहेको ऐतिहासिक र धार्मिकस्थल वराहक्षेत्र मन्दिरको संरक्षणका सरोकारवाला निकायले सहकार्य र समन्वय गर्नुपर्ने उहाँको भनाइ छ ।
प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार मानिन्छन् । सत्ययुगमा डुब्न लागेको पृथ्वीलाई विष्णु भगवान्ले वराहको अवतार लिएर संसारभरका प्राणीको रक्षा गरेर संसारलाई स्थायित्व दिएको हिन्दु शास्त्रमा उल्लेख छ ।
वराहक्षेत्र मन्दिरपरिसरमा नौ वटा पुरातावक मन्दिर रहेका छन् । गुरु वराहको मन्दिरभित्र रहेको ठुलो वराहको मूर्ति र लक्ष्मी मन्दिरभित्र रहेको मूर्ति एक हजार पाँच सय वर्षअगाडिका भएको बताइछ ।
मन्दिरभित्र रहेको कालो शीला नै यहाँको प्रमुख भएको बताइन्छ । आस्थाको धरोहरका रूपमा रहेको वराहक्षेत्र मन्दिरमा नेपाल, भारत, भुटानलगायत विश्वका हिन्दु धर्मावलम्बी दर्शनका लागि आउने गरेका छन् ।
कोकाह र सप्तकोशीको सङ्गमबाट सिधै मन्दिरको उत्तरपट्टिको सिँढी क्षेत्रमा नदीको चाप पर्दै आएको छ । धेरै वर्षपछि नदीको चाप सिँढीमा पर्दा थप जोखिम बढ्दै गएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइँकुण्ड) सम्मको भूभागमा फैलिएका नदीलाई समेटेको सप्तकोशी चतरासम्म सानो क्षेत्रफलमा बग्ने हुँदा नदीको तीव्र बेगको कटान रोक्न तटबन्ध बनाएर मन्दिरलाई क्षति हुनबाट रोक्नुपर्ने देखिएको छ ।