२०८२ भदौ १०, मङ्गलवार , ०८:४१:३६ बजे

Sajhamanch
'

आज हरितालिका तीजको ब्रत बसिँदै, तीन दिनसम्म पूजाआजा हुने

मङ्गलवार, भदौ १०, २०८२

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन ब्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसोगर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

सत्य युगमा आजैको दिन निराहार ब्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथा छ । त्यसैले आजको दिन निराहार ब्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूजा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ ब्रतालुहरुको आज बिहानैदेखि शिवालयहरुमा घुइँचो लागेको छ ।

तर यसको अर्थ सबै नारी निराहार ब्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । ब्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार ब्रत गर्नु उत्तम हुने धर्मशास्त्रका जानकार डा. रामचन्द्र उपाध्याय बताउनु हुन्छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि ब्रत बस्न सकिने उहाँको भनाइ छ ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको ब्रत बस्ने प्रचलन छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो ब्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

यो ब्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन ब्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको ब्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर नाचगान गर्दछन् ।

द्वितियाका दिन दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका ब्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

सम्बन्धित खबर