२०८२ भदौ ९, सोमवार , ०४:२४:३७ बजे

Sajhamanch
'

अमेरिकी धम्कीका बाबजुद भारतले रुसबाट तेल आयात जारी राख्ने

सोमवार, भदौ ९, २०८२

झापा । रुसका लागि भारतीय राजदूत विनय कुमारले भारतले सबैभन्दा राम्रो सम्झौता हुने ठाउँबाट तेल खरिद गर्न जारी राख्ने बताउनुभएको छ । भारतीय राजदूत कुमारले भारतले देशको ‘राष्ट्रिय हित’ को रक्षा गर्ने कदमहरू चाल्न जारी राख्ने जोड दिनुभएको बीबीसीले जनाएको छ ।

आइतवार रुसको सरकारी समाचार एजेन्सी ‘तास’ मा प्रकाशित एक अन्तर्वार्तामा विनय कुमारले भारतको प्राथमिकता देशको १ अर्ब ४५ करोडभन्दा धेरै जनसङ्ख्याका लागि ऊर्जा सुरक्षा सुनिश्चित गर्नु रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकाले भारतले सस्तो रुसी कच्चा तेल खरिद गरेकोमा आलोचना गरिरहेका बेला भारतीय राजदूतको यो टिप्पणी आएको हो । भारतले यो आलोचनालाई कडाइका साथ अस्वीकार गरेको छ ।

आइतवार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा भारतमाथि थप कर लगाएर रुसमाथि गम्भीर आर्थिक दबाव परेको उल्लेख गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्सि अगस्ट २७ देखि लागू हुने गरी भारतमा ५० प्रतिशत भन्सार लगाउनुभएको छ ।

रुसका लागि भारतीय राजदूत विनय कुमारले भारत र रुसलाई तेल आयातको भुक्तानीमा कुनै समस्या नभएको पनि बताउनुभएको छ । उहाँले अमेरिकी निर्णयलाई अव्यावहारिक र अनावश्यक भन्नुभएको छ ।

यसैबीच अमेरिकाले भारतमाथि लगाएको उच्च भन्सार करविरुद्ध अमेरिकाभित्रै विरोध भइरहेको छ । अमेरिकी रिपब्लिकन नेत्री निक्की हेलीले अमेरिकाले चीनलाई सन्तुलनमा राख्न भारतजस्तो मित्र राष्ट्रसँग सम्बन्ध बिगार्न नहुने तर्क गर्नुभएको छ ।

सम्बन्धित खबर