
विज्ञान प्रविधि
यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने, पछिल्ला दिनमा फोनको कल वा डायलर स्क्रिनमा आएको नयाँ रूपले तपाईंलाई पनि अचम्ममा पारेको हुन सक्छ ।
धेरै प्रयोगकर्ताहरूले कुनै सेटिङ नबदलेको भए पनि फोनको इन्टरफेस आफैं परिवर्तन भएको देखेपछि सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका छन्। कसैले यसलाई ह्याकिङसँग जोडिरहेका छन्, त कसैले सरकारी निगरानीको आशंका गरेका छन् ।
तर विज्ञहरू भन्छन्— यो न ह्याकिङ हो, न निगरानी । यो त गूगलले ल्याएको नयाँ सफ्टवेयर अपडेटको नतिजा मात्र हो ।
गूगलले यसैवर्ष ‘मटेरियल थ्री डी एक्सप्रेसिभ’ नामको ठूलो अपडेट ल्याउने घोषणा गरेको थियो । यही अपडेटपछि फोनको कलिङ एपमा देखिने डिजाइन र इन्टरफेस बदलिएको हो ।
अब डायलर खोल्दा पहिले देखिने ‘रिसेन्ट’ र ‘फेभरेट्स’ छुट्टै देखिँदैनन् । ती सबै ‘होम’मा मिसाइएका छन् । एउटै नम्बरबाट आएका कलहरू अब समूहगत नभई समयक्रम अनुसार देखिन्छन् । इनकमिङ कलको डिजाइन पनि बदलिएको छ, ताकि गल्तीले रिसिभ वा कट नहोस् ।
यस्तो परिवर्तन अचानक किन भयो भन्ने प्रश्न उठ्छ। यसको कारण हो— गूगल प्ले–स्टोरको अटो अपडेट । धेरै प्रयोगकर्ताले यो सुविधा अन गर्दै राखेका हुन्छन्, जसका कारण एप्स स्वतः अपडेट हुन्छन् । यसैले फोनको डिस्प्ले डिजाइन आफैं बदलिएको हो ।
वनप्लससहितका कम्पनीहरूले समेत प्रष्ट पारेका छन् कि यो उनीहरूको निर्णय होइन, गुगलको एन्ड्रोइन एपकै अपडेट हो ।
यदि तपाईंलाई नयाँ इन्टरफेस मन परेको छैन भने पनि चिन्ता लिनुपर्ने छैन । फोन सेटिङमा गएर ‘अनइन्स्टल अपडेट’ गर्ने विकल्प रोजेपछि डायलर अघिल्लो जस्तै पुरानै स्टाइलमा फर्कन्छ । वा गुगल प्ले स्टोरमा गएर ‘गुगल कन्ट्याक्ट’ एप खोजेर पनि अपडेट अनइन्स्टल गरी डायलरलाई पुरानै स्वरुपमा फर्काउन सक्नु हुन्छ ।
यसैले, एन्ड्रोइड फोनको बदलिएको कल स्क्रिन देखेर ह्याकिङ वा निगरानीको डर मान्नुपर्ने कारण छैन। यो त गूगलले ल्याएको नयाँ प्रयोग मात्र हो, जसलाई तपाईं चाहनुहुन्छ भने प्रयोग गर्न सक्नुहुन्छ, नचाहे पुरानै शैलीमा फर्किन सक्नुहुन्छ ।