
काठमाडौं । पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ । वीरगञ्ज महानगरपालिको वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ भने एक सय जनाभन्दा धेरै बिरामी उपचाररत छन् । वीरगञ्जको मुर्ली टोलका बासिन्दामा साउन अन्तिम हप्ता झाडापखालासहितको समस्या देखिएको थियो र सङ्ख्या बढ्दै गएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
झाडापखालाका कारण तीन जनाको ज्यान गएको भनिए पनि यसबारे थप खुल्न सकेको छैन । ‘भिब्रियो कोलेरा’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्छ । हैजा लाग्दा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छ ।
अहिले वीरगञ्ज महानगरपालिका १ देखि १६ नम्बर वडासम्मलाई जोखिमयुक्त क्षेत्र मानिएको छ । ती क्षेत्रमा घर–घरमै टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने काम भइरहेको महानगरले जनाएको छ ।
उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात राम्ररी पखालेर मात्र पकाएर खान, बासी खाना नखान, साबुनपानीले पटक–पटक हात धुन, शौचालयको प्रयोग गर्न आग्रह गरिएको छ ।
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा। उदयनारायण सिंहले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन, सरसफाइमा ध्यान दिन अनुरोध गर्नुभएको छ । साथै मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाण्डौको टेकु प्रयोगशालामा पठाइएको छ । हैजा पुष्टि भएपछि महानगरभित्र उच्च सतर्कता अपनाउन थालिएको छ ।
महानगरपालिका कार्यालयले हिजो सबै वडाका स्वास्थ्यकर्मीसँग छलफल गरेर दुई दिन आज र भोलि महानगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना निकालेर दुई दिन विद्यालय बन्द गर्ने निर्देशन समेत दिएको छ । साथै पानीपुरी, चटपटे, चाटसहित स्ट्रिट फुड बिक्रीमा तत्कालका लागि प्रतिबन्ध लगाउने निर्णय भएको छ ।
यसैबीच खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका विभिन्न अस्पतालमा पुगेर हैजाका बिरामीको अवस्थाबारे जानकारी लिनुभएको छ । हैजाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार संवेदनशील रहेको उहाँले बताउनुभएको छ ।
मन्त्री यादवले हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी शुद्धिकरणका लागि ‘पियुष’लगायतका आवश्यक सामग्रीसहितको मोबाइल टोली परिचालन गरिएको र टोलीले पानीको परीक्षण कार्य अघि बढाएको समेत जानकारी दिनुभयो ।