
काठमाडौं । आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भाग, लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागका थोरै ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
दिउँसो कोशी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका केही ठाउँहरुमा र बाँकी तराई भू–भागको थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । यस्तै, राति पहाडी भू–भागका केही ठाउँहरुमा र तराई भू–भागका थोरै ठाउँहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गएराति पनि गण्डकी पश्चिमका केही ठाउँमा ठूलो वर्षा भएको थियो । १२ घण्टामा कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके र रोल्पामा एकसय मिलिमिटरभन्दा धेरै पानी परेको हो । ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढी आएको छ । महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँको आसपासमा अवस्थित छ ।