२०८२ भदौ ५, बिहिवार , ०८:२२:१७ बजे

Sajhamanch
'

झापाका पालिकाहरु शुक्रबार पहेँलपुर हुँदै, प्याब्सनले सवारी साधनसहित घेराउ गर्ने

बिहिवार, भदौ ५, २०८२

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले आज आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसँगै प्याब्सनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

विधेयकमा केही बुँदा संशोधनको मागसहित प्याब्सन आन्दोलित थियो । विधेयकमा निजी विद्यालयलाई गैर नाफामुलक बनाउने विषयमा विवाद छ ।

विद्यालय सञ्चालकहरुले कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैर नाफामुलक बनाउने भन्ने व्यवस्था हटाउनु पर्ने, पूर्ण छात्रवृत्तिबाट पोसाक, स्टेशनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराइनु पर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने माग राखेका छन् । यद्यपि विधेयक समितिबाट पारित भएको छ ।

विधेयक पारित भएसँगै प्याब्सनले आन्दोलनलाई थप शसक्त बनाएको हो । प्याब्सन केन्द्रीय कार्यसमितिको निर्णय अनुसार प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

जस अन्तरगत भदौ ६ गते विद्यालय सञ्चालन पश्चात यातायातका साधन लिएर पालिका घेराउ गर्ने, कालो झण्डा प्रर्दशन गर्ने, केही दूरीसम्म शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने कार्यक्रम तय भएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सबै पालिकामा केन्द्रीय निर्देशन अनुसार कार्यक्रम गरिने छ । झापाको बिर्तामोडस्थित सैनिकमोड विराटपोखर लाइनमा विद्यालयका सवारी साधनहरुमा व्यानर र कालो झण्डा राखी सवारी साधन सडकमा निकालेर नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको छ ।

अर्जुनधारामा शनिश्चरे बजारबाट र्याली निकालेर नगरपालिका पुग्ने कार्यक्रम छ । बाह्रदशीमा भ्यू टावरबाट राजगढसम्म पुग्ने र पालिका आउने कार्यक्रम छ ।

कनकाईमा सुरुङ्गाबाट नगरपालिकासम्म आउने कार्यक्रम तय भएको प्याब्सन झापाका सचिव उप्रेतीले जानकारी दिनुभयो ।

यसअघि प्याब्सन, एन प्याब्सन र हिसानले साउन २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । २९ गते पालिका प्रमुखलाई ज्ञापनपत्र, ३० गते प्रजिअ र शिक्षा विकास समन्वय इकाईका प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।

त्यस्तै राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्यहरुलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

सम्बन्धित खबर