
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अर्थात् अमेरिका बस्न पाउने विशेष सुविधा खारेज गर्ने भएको छ । त्यहाँको सङ्घीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको बीबीसीले जनाएको छ ।
योसँगै टीपीएस सुविधा लिएर अमेरिकामा बसोबास गर्दै आएका झन्डै सात हजार नेपाली स्वदेश फर्कनुपर्ने भएको छ । नेपालमा १० वर्षअघि सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।
त्यसबेला झन्डै १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएका थिए । ट्रम्प प्रशासनले आप्रवासी र अवैध रूपमा बसोबास गरिरहेकाहरुप्रति कडा नीति लिइरहेका बेला अमेरिकाको होमल्याण्ड सेक्युरिटीले शुरुमा नेपाल, होन्डुरस र निकारागुआका नागरिकहरुको टीपीएस सुविधा हुने निर्णय गरेको छ ।
हिजो पुनरावेदन अदालतले फैसला गरेकाले टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको खबरमा उल्लेख छ । अमेरिकाको आप्रवासन प्रणाली अन्तर्गत विशेष परिस्थितिमा दिइने सुविधा टीपीएस हो । यो सुविधा पाएका निश्चित देशका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न अनुमति दिइन्छ ।