
काठमाडौं । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै सीमा व्यापार गर्न पुनः सहमति गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा हिजो सहमति भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको १२ बुँदे विज्ञप्तिको नवौं नम्बरमा दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी ३ वटा नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका उल्लेख छ ।
यसअघि २०७२ सालमा पनि भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेकबाट व्यापार गर्ने सहमति भएको थियो । त्यस बेला सहमतिप्रति आपत्ति जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो ।
तर भारतले सन् २०१९ मा जारी गरेको आफ्नो नयाँ नक्शामा कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय सीमाभित्र देखाएको छ । त्यसप्रति आपत्ति जनाउँदै वार्ताका लागि गरेको प्रस्तावमा भारतले बेवास्ता गरेपछि नेपालले पनि २०७७ सालको जेठमा लिम्पियाधुरासम्मको क्षेत्र समेटेर चुच्चे नक्शा जारी गरेको थियो । तर नेपालले अझै पनि अन्तर्राष्ट्रिय जगतलाई औपचारिक रूपमा नयाँ नक्शा पठाएको छैन ।
त्यही कारण चीनले सन् २०२३ मा जारी गरेको नयाँ नक्शामा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारततर्फ देखाएको छ ।
भारतले लिपुलेक नाका हुँदै तिब्बत जाने सडक बनाएको छ । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाने अन्तिम तयारी रहेकै बेला भारत र चीनले यस्तो सहमति गरेका हुन् ।