२०८२ भदौ ४, बुधवार , ०१:३१:५५ बजे

Sajhamanch
'

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेटवार्ता

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दुकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी दिनुभएको थियो । भेटमा उहाँले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सभामुखले दुई देशबिच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावना रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राख्नुभयो । प्रतिनिधिमण्डलकी नेतृ हसनले नेपालले हिन्दुकुश हिमालय ‘पार्लियामेन्टेरियन्स मिट–२०२५’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।

सम्बन्धित खबर