२०८२ भदौ ४, बुधवार , ०५:०८:५१ बजे

Sajhamanch
'

रुसी राष्ट्रपति पुटिन युद्ध अन्त्यका लागि इच्छुक नहुन सक्छन् : अमेरिकी राष्ट्रपति ट्रम्प

बुधवार, भदौ ४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने चेतावनी दिनुभएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने भनिएको सम्भावित शिखर बैठकको चर्चा अघि ट्रम्पको प्रतिक्रिया आएको हो ।

गएको हप्ता अलास्कामा पुटिनसँग भेट गर्नुभएका ट्रम्पले अस्ति सोमवार सात जना युरोपेली नेतासहित जेलेन्स्कीलाई ह्वाइट हाउसमा स्वागत गर्नुभएको थियो । उहाँले युक्रेन–रूस युद्धलाई कठिन समस्या भन्दै पुटिन वार्ता गर्न इच्छुक नहुन सक्ने सम्भावना रहेको बताएको बीबीसीले जनाएको छ ।

यसअघि पुटिनले ट्रम्पलाई प्रत्यक्ष वार्ताका लागि आफू खुला रहेको समेत बताउनुभएको थियो । हिजो मात्रै पुटिनले ट्रम्पलाई जेलेन्स्कीले मस्को यात्रा गरेर वार्ता गर्न सक्ने सुझाव दिनुभएको थियो ।

युक्रेनले यस्तो प्रस्ताव स्वीकार्ने सम्भावना अत्यन्तै न्यून रहेको विश्लेषकले बताएका छन् । ट्रम्पले सुरुमा युद्धविराम सम्भव हुने विश्वास व्यक्त गरे पनि अहिले उहाँले प्रत्यक्ष शान्ति सम्झौतामै जोड दिनुभएको छ ।

यसैबीच रुस–युक्रेन युद्ध कूटनीतिक प्रयासकाबीच रुसले मध्य युक्रेनको पोल्टावा क्षेत्रमा पर्ने औद्योगिक शहर क्रेमेन्चुकमाथि आक्रमण गरेको युक्रेनी अधिकारीहरुले आरोप लगाएका छन् ।

क्रेमेन्चुकका मेयर विताली मालेत्स्कीले आक्रमणको निशाना ‘तेल र यातायात पूर्वाधार’ भएको बताउनुभएको छ । उत्तरी युक्रेनको चेर्निहीभ शहरमा पछिल्लो २४ घण्टामा भएको रुसी ड्रोन आक्रमणपछि झन्डै ३० हजार घरमा बिजुली आपूर्ति बन्द भएको छ ।