२०८२ भदौ ४, बुधवार , १२:५१:५५ बजे

Sajhamanch
'

भारत–चीनबीचको सीमा वार्ता : लिपुलेक, शिपकी ला र नाथु ला नाकाबाट फेरि व्यापार शुरु गर्ने तयारी

बुधवार, भदौ ४, २०८२

झापा । भारत र चीनबीच सीमा विवादबारे विशेष प्रतिनिधिको २४ औँ चरणको वार्ता सम्पन्न भएको छ । बैठकमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा क्षेत्रमा शान्ति कायम भएको र द्विपक्षीय सम्बन्ध थप बलियो बन्दै गएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले गएको वर्ष कजानमा भएको सहमतिपछि नयाँ वातावरण बनेको र यसले आपसी सहयोगका विभिन्न क्षेत्रमा प्रगति गर्न मद्दत गरेको बताउनुभयो ।

चीनका विदेश मन्त्री वाङ्ग यीले पछिल्ला वर्षमा दुवै देशले भोगेका तनाब आपसी हितमा नभएको उल्लेख गर्दै अब सीमामा स्थिरता फर्किएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

यसअघि गएको अगस्ट १८ तारिखमा भारतीय विदेश मन्त्री एस. जयशङ्कर र वाङ्ग यीबीच भएको भेटमा जयशङ्करले आपसी सम्मान, संवेदनशीलता र हितको आधारमा सम्बन्ध अघि बढाउने आवश्यकता रहेको बताउनुभएको थियो ।

बैठकमा व्यापार विस्तारबारे पनि सहमति भएको छ । विशेषगरी उत्तराखण्डको लिपुलेक दर्रा, हिमाचल प्रदेशको शिपकी ला र सिक्किमको नाथु ला मार्ग हुँदै रोकिएको व्यापार फेरि सुरु गर्ने तयारी भएको खबरमा उल्लेख छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले वाङ्ग यीसँगको भेटपछि सामाजिक सञ्जालमा भारत–चीन सम्बन्ध आपसी हित र संवेदनशीलताको सम्मानका आधारमा प्रगति गरिरहेको बताउनुभएको छ ।

अहिले चीन–पाकिस्तान निकट सम्बन्ध र अमेरिका–भारतबीचको नयाँ भन्सार कर विवादले भारत–चीन सम्बन्धलाई थप संवेदनशील बनाएको विश्लेषण समेत भइरहेको छ ।

सम्बन्धित खबर