
कञ्चनपु । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल जानुभएका जोशी २०८० सालको असोज २० गतेदेखि सम्पर्कविहीन छन् ।
इजरायलमा बेपत्ता रहेका विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हर सम्भव पहलमा जुटिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
सोमबार बिहान फेसबुकमा स्ट्याटस राख्दै प्रधानमन्त्री ओलीले जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभयो । विपिनको रिहाइका लागि आफुले गत फागुन २८ गते इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिल र चैत ७ गते टर्कीका राष्ट्रपती रेसेप तैयप सँग यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको उहाँले बताउनुभयो ।
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी छेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
आइतबार मात्रै विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पाले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटेर हमासद्वारा बेपत्ता बनाइएका विपिनको रिहाइका लागि पहल गरिदिन माग गर्नुभएको छ । बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोग समक्ष आफ्नो दाइलाई हमासको बन्धकबाट मुक्त गराउन अपिल गर्नुभयो ।
जोशीको रिहाइका लागि नेपाली समुदायले शनिबार साँझ तेलअभिभमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन प्लेकार्डसहित सहभागी हुनुभएको थियो ।
प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका विपिन जोशीको खोजि गर्न गत सोमबार मात्रै विपिनका आमा र बहिनी इजरायल जानुभएको थियो ।