२०८२ भदौ १, आइतवार , ०९:२५:३९ बजे

Sajhamanch
'

दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैन : मन्त्री दाहाल

आइतवार, भदौ १, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहालले यस वर्षको दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताउनु भएको छ ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आज आइतबारको बैठकमा मन्त्री दाहालले यस्तो जानकारी दिनु भएको हो ।

इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको उहाँको भनाइ छ ।

उहाँले यात्रुको भिडभाड हुने चाडपर्वको बेलामा भाडा नबढाउन यातायात व्यवसायीलाई आग्रह गरेको पनि बताउनु भयो ।

यातायात व्यवसायीसँग छलफलमार्फत् सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको उहाँको भनाई छ ।

प्रदेशस्तरमा रहेका सडक आयोजनाहरू प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको मन्त्री दाहालले बताउनु भयो ।

‘तपाईंहरूलाई के विश्वास दिलाउन चाहान्छु भने यो वर्षको दशैं र तिहारमा भाडा बढाउने योजना छैन । हामीले यातायात व्यवसायीसँग पनि भनेका छौं । मान्छेको भिडभाड हुने बेलामा भाडा बढाउने काम नगरौं । बरु यातायात व्यवसायीलाई केही पीर मर्का परेको छ भने यातायात व्यवसायीसँग बसेर छलफल गर्ने भनेका छौं’ बैठकमा उहाँले भन्नुभएको थियो ।

निर्माणाधिन सडकका सम्बन्धमा ज्यालादारी कामदारसहित प्रदेश सरकारलाई सडक आयोजनाको जिम्मा दिने तयारी भइरहेको मन्त्री दाहालको भनाइ छ ।

सम्बन्धित खबर