
झापा । शिक्षासेवी गुरुभक्त न्यौपानेको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको छ ।
बिर्तामोडस्थित कञ्चनजंघा अंग्रेजी मावि र नमूना कलेजका संस्थापक तथा प्रिन्सिपल न्यौपानेको आज बिहान ७ः३० बजे निजी निवासमा निधन भएको हो । उहाँ एक वर्षदेखि टाउकोमा ट्युमर पलाएर अस्वस्थ हुनुहुन्थ्यो । उहाँकै अग्रसरतामा स्थापित तर लामो समयदेखि साझेदारहरुले चलाउँदै आउनु भएको सैनिकमोड नजिकैको विराटज्योति अंग्रेजी मावि पनि दुई वर्ष पहिलेदेखि न्यौपानेकै नेतृत्वमा सञ्चालित थियो ।
२०३५-३६ सालमा तेह्रथुमबाट झापा झरेर जलथलको एउटा विद्यालयमा शिक्षक भई शिक्षण पेशा सुरु गर्नुभएका न्यौपानेले पछिल्लो समय सञ्चालन गर्नुभएको कञ्चनजंघा अंग्रेजी मावि आसपासका विद्यालयमा भन्दा धेरै विद्यार्थी अध्ययन गर्ने एवम् उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयमा पर्दछ ।
उहाँले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनमा आवद्ध भई केन्द्रीय सदस्यसमेतको जिम्मेवारी पूरा गर्नुभएको थियो । हाल झापा प्याब्सनको प्राज्ञिक सल्लाकार रहनु भएका न्यौपानेको निधनमा प्याब्सनले शोक वक्तब्य प्रकाशन गरेर श्रद्धाञ्जली अर्पण गरेको छ । स्वर्गीय न्यौपानेको आजै दिउँसो कनकाई माईमा अन्तिम संस्कार गरिने विद्यालयले जनाएको छ ।