
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष भेट भनिएको छ ।
बैठकमा ट्रम्प आफ्नो प्रमुख चुनावी बाचा युक्रेनमाथिको रुसको युद्ध अन्त्य गर्ने प्रयासमा केन्द्रीत रहने बीबीसीले जनाएको छ ।
अलास्काको एकोरेजको अमेरिकी सैन्य बेसमा हुने यो छोटो तर उच्चस्तरीय बैठक केही घण्टामात्र चल्ने तय भएको खबरमा भनिएको छ ।
ट्रम्पले यो वार्ताबाट सकारात्मक परिणाम आउने दाबी गर्नुभएको छ । उहाँले पुटिनसँगको व्यक्तिगत सम्बन्धलाई प्रयोग गरी युद्धविराम खोज्ने बताउनु भएको छ तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वार्ताबाट पूर्णरुपमा बाहिर राखिएको छ ।
जेलेन्स्कीले आफूविना भएको कुनै पनि सम्झौता ‘अर्थहीन’ हुने चेतावनी यसअघि नै दिइसक्नुभएको छ । उहाँले विशेषगरी डोनबास क्षेत्र र अन्य कब्जामा रहेका क्षेत्रहरू रूसलाई सुम्पिने कुनै पनि विचार अस्वीकार गर्ने बताउनु भएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रूसलाई युद्धविरामको अल्टिमेटम दिँदै असफल भए कडा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो ।
तर रुसी पक्षले निरन्तर मौनता अपनाउँदै आफ्नो अडान डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्जिया क्षेत्रमा पूर्ण सार्वभौमिकता र युक्रेनको नाटोमा प्रवेश नगर्ने ग्यारेन्टी फेरी दोहोर्याएको छ ।