
झापा । झापामा जापानिज इन्सेफलाइटिस ९जेई०बाट एक बालिकाको मृत्यु भएको छ । झापा गौरीगञ्ज-१ की ८ वर्षीया वर्षा महतोको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको पुष्टि भएको हो ।
गत साउन १ गते विराट मेडिकल कलेज विराटनगरमा भर्ना गरिएकी ती बालिकाको साउन ४ गते मृत्यु भएको विश्व स्वास्थ्य संगठन दमककी आइपीडी सर्भिलेन्स अफिसर डा. संगीता शाहले बताउनु भयो ।
उहाँले जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै गएको जानकारी दिनुभयो । उहाँको मृत्यु भएको रिपोर्ट अझै आइनपुगेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख राजकुमार पोखरेलले बताउनु भयो ।
त्यस्तै संक्रमण बढ्दै जाने क्रममा जिल्लाका चार जनामा सो रोगको संक्रमण पुष्टि भएको छ । यसअघि मेचीनगरका दुई महिलामा संक्रमण देखिएकोमा भद्रपुरका एक वृद्धलाई पनि जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ ।
भद्रपुर–९ पुहाँतुवारीका ७७ वर्षका वृद्धलाई जापानिज इन्सेफलाइटिस देखिएको हो । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड भर्ना गरिएको निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिनुभयो । यसअघि मेचीनगर नगरपालिकाका दुई जनालाई जापानिज इन्सेफलाइटिस रोग देखिएको छ ।
मेचीनगर ३ र ५ नम्बर वडाका दुई जना महिलामा यसको संक्रमण देखिएको हो । वडा नम्बर –३ की ३६ र वडा नम्बर –५ की ५५ वर्षीया महिलामा संक्रमण देखिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
गत वर्ष यो सङ्क्रमणबाट झापामा दुई जनाको मृत्यु भएको थियो । मेचीनगर र दमकमा एक–एकजनाको मृत्यु भएको थियो ।
त्यस्तै इलामका एक जनालाई जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । माई नगरपालिका वडा नं. ८ महमाईकी एक जना महिला जापानिज इन्सेफलाइटिसबाट गम्भीर बिरामी परेकी हुन् ।
जापानिज इन्सेफलाईटिसका लागि रगत नमुना सङ्कलन गरी प्रयोगशालामा पठाउँदा नतिजा पोजेटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँले जनाएको छ। त्यस्तै तेह्रथुममा एक जना र मोरङमा चार जना संक्रमित देखिएका छन् ।
नेपालमा जापानिज इन्सेफलाइटिस सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिएको देखिँदैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित फैलिने दर बढ्नु भनेको घातक रोग देशभर फैलिन थालेको स्पष्ट सङ्केत हो ।
विगतका वर्षहरूमा जापानिज इन्सेफलाइटिसबाट हजारौँ मानिस संक्रमित भएका थिए । हाल संक्रमित भएका र मृतकमध्ये अधिकांशले खोप लगाएका छैनन् ।