
झापा । अस्ट्रेलिया र भानुआतुबीच ३२ करोड ८० लाख अमेरिकी डलर बराबरको सुरक्षा र व्यापार सम्झौतामा सहमति भएको छ । सुरक्षा र आर्थिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले दुई देश १० वर्षे सम्झौतामा सहमत भएका बीबीसीले जनाएको छ ।
महिनौंको वार्ताको परिणाम स्वरूप भएको ‘नाकामल सम्झौता’ ले अस्ट्रेलियाको प्रशान्त छिमेकीसँगको सम्बन्धलाई परिवर्तन गर्ने दुवै देशका नेताहरूले बताएका छन् ।
आफूहरू परिवार भएको र दुई देशको सम्बन्ध एकअर्कासँग धेरै जोडिएको अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले बताउनुभयो । यस्तै भानुआतुका नेता जोथम नापटले सम्झौतालाई दुवै देशका लागि जीतको अवस्थाका रूपमा वर्णन गर्नुभएको छ ।
आउँदो सेप्टेम्बरमा आधिकारिक रूपमा हस्ताक्षर हुने यो सम्झौता चीनको बढ्दो खर्च र शक्तिको सामना गर्न अस्ट्रेलियाले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेको बेला आएको खबरमा उल्लेख छ ।
अस्ट्रेलियाली सरकारले सम्झौताको थप विवरण प्रदान नगरे पनि अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले भानुआतुको राजधानी पोर्ट भिला र सबैभन्दा ठूलो टापु सान्तोमा दुई ठूला डाटा सेन्टर निर्माण गर्न रकम उपलब्ध गराउने रिपोर्ट गरेको छ ।
जलवायु परिवर्तनको प्रभावसँग जुध्न र यसको सुरक्षालाई बलियो बनाउन तल्लो तटीय टापुलाई सहयोग गर्न पनि लाखौं डलर खर्च गरिने खबरमा उल्लेख छ ।
एबीसीका अनुसार भानुआतुका पूर्वप्रधानमन्त्रीले सुरक्षा चिन्ताका कारण अन्तिम समयमा फिर्ता लिएपछि सन् २०२२ मा पनि यस्तै सम्झौता असफल भएको थियो ।