२०८२ साउन २९, बिहिवार , ०४:०८:२५ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली भदौ तस्रो हप्ता चीन भ्रमणमा जाने

बिहिवार, साउन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौ तेस्रो हप्ता चीन भ्रमणमा जानु हुने भएको छ । चीनमा हुने दुई वटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भदौ १४ गते भ्रमणमा जान लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८०औं वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेड र शाङ्घाई को–अपरेशन अर्गनाइजेशन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनु हुनेछ ।

भदौ १४ देखि १८ गतेसम्म चीनमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट्नु हुने छ । चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग संयुक्त भेटको पनि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) क्षेत्रीय स्थिरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा स्थापना भएको थियो । यस सङ्गठनमा चीन र भारतसहित १० वटा देश सदस्य छन् । नेपाल एससीओमा ‘डायलग पार्टनर’ का हैसियतमा छ ।

‘डायलग पार्टनर’ राष्ट्रका प्रमुख एससीओ शिखर सम्मेलनमा सहभागी हुने चलन नरहे पनि भदौ १७ गते बेइजिङमा हुने ‘मिलिटरी परेड’ मा ओलीलाई निमन्त्रणा आएको हो । भ्रमणका क्रममा ओलीलाई एससीओ शिखर सम्मेलनमा पनि सहभागी हुने अवसर आएको हो ।