२०८२ साउन २७, मङ्गलवार , ०५:२८:२१ बजे

Sajhamanch
'

राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाको राजीनामा

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।

प्रतिवेदन आइसकेपछि सभापति खतिवडासमेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका हुन् ।

राजीनामा दिनु अघि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ अफ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताए । सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कूटनीतिक नियुक्ति दिन नहुने र यसो गर्दा सरकारको काम कारबाही प्रभावित हुने र भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्ने उनले औंल्याए । गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति लागेको उनको भनाइ छ ।

सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको उनले बताए ।

राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको उनले बताए । प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको बताए ।

निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल गरे । तथापि, अन्तिम रुपमा गहिरिएर नहेर्नु कमजोरी रहेको स्वीकार गरे ।

कर्मचारीका लागि विश्वास गर्दा त्रुटि हुन पुगेको उल्लेख गर्दै उनले प्रतिवेदन अगाडि बढेपछि आफूले मात्रै नभएर संसद्का सबै सदस्यले हेरेको बताए । कसैले पनि नहेर्नु आफ्नो मात्रै कमजोरी हुन नसक्ने तर्क गरे ।

प्रतिनिधि सभामा बोल्ने क्रममा खतिवडाले राष्ट्रिय सभामा एमालेका तर्फबाट कुलिङ अफ पिरियड हटाउने संशोधन प्रस्ताव परेको स्मरण गरे । आफू गठबन्धनप्रति अडिग रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाबाट दुई वर्षको कुलिङ पिरियड लागू हुने प्रावधानसहित निजामती सेवा विधेयक पारित हुने विश्वास व्यक्त गरे ।

पृष्ठभूमिमा यी विषय राख्दै खतिवडाले राजीनामा दिएको घोषणा गरेका हुन् ।

राजीनामा दिँदै गर्दा उनले आफू कूटिल राजनीतिको सिकार हुन पुगको उनले बताए । जो कुलिङ अफ पिरियड चाहिन्छ भनेर लाग्यो उही दोषी देखिने जस्तो देखाउन खोजिएको भनेर उनले आफूलाई चिन्ता लागेको बताए ।

संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहर्‍याएको पनि खतिवडाले दाबी गरे ।

राजनीतिमा कतिपय बेला नगरेको गल्तीसमेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने र आफूमाथि त्यस्तै भएको बताए ।

आफूलाई कारबाहीको सिफारिससमेत नभएको उल्लेख गर्दै उनले भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

सम्बन्धित खबर