२०८२ साउन २७, मङ्गलवार , ०५:१४:२५ बजे

Sajhamanch
'

शेयर बजार विश्लेषण गर्ने भन्दै ‘नेप्से एआई’ बाट ठगी, सतर्क रहन आग्रह

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ ।

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा ‘नेप्से एआई’ डाउनलोड गर्न लगाई शेयर बजारको विश्लेषण गरी धेरैभन्दा धेरै नाफा कमाउन सक्ने भन्दै भ्रामक सूचना प्रवाह भइरहेको सीआईबीले जनाएको छ ।

यो एप इन्स्टल गरेपछि रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिनेजस्ता कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

सीआईबीले ‘नेप्से एआई’ लगायतका कुनै पनि अपरिचित लिङ्क तथा एपहरू क्लिक, डाउनलोड तथा इन्स्टल नगर्न आग्रह गरेको छ ।

एक व्यक्तिले ‘नेप्से एआई’ को प्रयोग गर्दा आफ्ना विभिन्न बैंक खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भएको र मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपहरू मेटाएको भन्ने उजुरी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता घटनाबारे थाहा पाउनासाथ सम्बन्धित बैंक, वित्तीय संस्था, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा खबर गर्न सीआईबीको आग्रह छ ।

सम्बन्धित खबर