२०८२ साउन २७, मङ्गलवार , ०४:४४:०९ बजे

Sajhamanch
'

कस्तो छ बैंकहरूको वित्तीय अवस्था

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । बैंकहरूले गएको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म एभरेस्ट, नबिल, माछापुच्छ्रे, कृषि विकास लगायतका बैंकहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

वित्तीय अवस्था हेर्दा धेरैजसो बैंकहरूको अवस्था राम्रो देखिएको छ । उनीहरूले नाफामा वृद्धि गरेका छन् भने खराब कर्जाको अनुपात घटाएका छन् ।

गएको आर्थिक वर्षको असार मसान्तसम्म एभरेस्ट बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशतले धेरै हो । अघिल्लो आवको यही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा एभरेस्ट बैंकले ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गएको आवको तुलनामा १९.३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

एभरेस्ट बैंकको निक्षेप संकलन ३८.६२ प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

एभरेस्ट बैंकको सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा ३१.६३ प्रतिशतले धेरै हो । अघिल्लो आवको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको एनपीएल ०.७१ प्रतिशत रहेको थियो । यस कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।

एनएमबी बैंकले पनि चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले अघिल्लो वर्षको तुलनामा नाफामा वृद्धि गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले गएको आवमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षमा एमएमबी बैंकको यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो । नाफामा उल्लेख्य वृद्धि देखिएको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ । प्रतिशेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो । प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ छ ।

एनएमबी निष्क्रिय कर्जा सामान्य बढेको छ । गएको असार मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत छ । अघिल्लो वर्ष ३.४० प्रतिशत थियो । अहिले बैंकको शेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा छ ।

नबिल बैंकको नाफामा पनि १५ प्रतिशतले वृद्धि देखिएको छ । चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड रुपैयाँ थियो ।

नबिल बैंकको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ । वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जामा सामान्य सुधार आएको छ ।

कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.२७ प्रतिशत छ, पहिले ४.४५ प्रतिशत थियो । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ रहेको बैंकको शेयर मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ३० पैसा छ ।

हिमालयन बैंकले गएको आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गएको आवमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको नाफा १ अर्ब २३ करोड थियो । अघिल्लो वर्षको तुलनामा यो नाफा २२.१५ प्रतिशत धेरै हो । बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष ४.९८ प्रतिशत रहेकोमा गएको आवमा ७.२८ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैंकले पनि नाफामा भारी वृद्धि गरेको छ । गएको आवमा बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ, यो अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले धेरै हो ।

बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा पुगेको छ ।

कुमारी बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ, यो अघिल्लो वर्षको तुलनामा ४ सय गुणाले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी झन्डै ७ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६ पैसा रहेको सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ३ गुणाले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकले १३.२२ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ ।

बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेसेयर आम्दानी २४ रुपैयाँ १ पैसा छ ।

सरकारी स्वामित्वको कृषि विकास बैंकले ४ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ, यो अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि हो ।

बैंकको खुद ब्याज आम्दानी ७ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ०६ पैसा पुगेको छ ।

सानिमा बैंकले सार्वजनिक गरेको विवरण अनुसार गएको आवमा २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ७.२५ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा सानिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ । बैंकले २०.४७ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ । अघिल्लो वर्ष १०.६६ प्रतिशत थियो ।

समीक्षा वर्षमा सानिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२१ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल ०.५१ प्रतिशत थियो ।

सिटिजन्स बैंकको नाफा गएको वर्षको तुलनामा २ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँ रहेको छ । तर बैंकको खुद ब्याज आम्दानी झन्डै १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ ।

अरू बैंकहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने क्रम चलिरहेको छ ।

सम्बन्धित खबर