
झापा । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गाजामा इजरायली आक्रमणमा पाँच जना पत्रकार मारिएको घटनाप्रति कडा आपत्ति जनाएको छ ।
राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भएको आरोप लगाएको छ । केही देशहरुसहित विभिन्न मानवअधिकार संस्था र पत्रकार सङ्गठनहरूले समेत यसलाई पत्रकारमाथिको ‘लक्षित हत्या’ भनेका बीबीसीले जनाएको छ ।
गाजामा गएको आइतवार इजरायली हवाई आक्रमणमा अल जजिराका पाँच जना पत्रकारसहित आठ जनाको ज्यान गएको थियो ।
मारिनेमा चर्चित पत्रकार अनस अल–शरीफ, मोहम्मद क्रीकेह, इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलिवा छन् । अर्को पत्रकार मोहम्मद अल–खाल्दी र एक अन्य व्यक्ति पनि मारिएका छन् ।
पत्रकार सुरक्षा निकायका अनुसार सन् २०२३ को अक्टोबरदेखि गाजामा अहिलेसम्म १८६ पत्रकार मारिएका छन् ।
यसैबीच गाजामा गएको २४ घण्टामा भोकमरीका कारण थप पाँच जनाको ज्यान गएको छ । जसमा एक बालक पनि छन् । अहिलेसम्म भोकमरीका कारण ज्यान जानेको सङ्ख्या दुई सय २२ पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घले आवश्यकभन्दा निकै कम मात्र सहायता गाजामा प्रवेश गर्न पाएको र भोकमरीको सबैभन्दा खराब अवस्था आएको चेतावनी दिएको छ ।
इजरायले भने गाजामा भोकमरी नभएको दाबी गरेको छ । उसले सहायता वितरणमा ढिलाइ भएको दोष संयुक्त राष्ट्रसङ्घका निकायहरूलाई लगाउँदै आएको छ ।