
झापा । अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताउनुभएको बीबीसीले जनाएको छ ।
यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका थिए । अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानीजले प्यालेस्टिनी प्राधिकरण (पीए) बाट निःशस्त्रीकरण, आमचुनाव गराउने र इजरायलको अस्तित्वको अधिकारलाई मान्यता दिने प्रतिबद्धताहरू प्राप्त गरेको बताउनुभएको छ ।
यद्दपि गाजामा युद्ध अन्त्य गर्न बढ्दो दबावमा रहेको इजरायलले प्यालेस्टिनी राज्यलाई मान्यता दिनुले आतङ्कवादलाई पुरस्कृत गर्ने बताएको छ ।
यसैबीच भोकमरी र कुपोषणका कारण शनिवारदेखि गाजामा पाँच जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार भोकमरी र कुपोषणका कारण ज्यान गुमाउनेको सङ्ख्या २१७ पुगेको छ ।
यस्तै मन्त्रालयले सन् २०२३ देखि इजरायलको सैन्य कारबाहीमा ६१ हजारभन्दा धेरै मानिस मारिएका बताएको छ ।