
झापा । युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा युक्रेनलाई पनि समावेश गर्नुपर्ने बताएका छन् । युरोपेली सहयोगीहरूले युक्रेन विना कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा जोड दिएका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो अगस्ट १५ मा युक्रेन युद्धको बारेमा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी गरिरहेका बेला युक्रेनका सहयोगीहरूले यस्तो बताएका हुन् ।
बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्यान्ड, फिनल्यान्ड र युरोपेली सङ्घका नेताहरूले संयुक्त विज्ञप्ति निकालेर युक्रेन विना शान्तिको बाटो खोल्न नसकिने बताएका छन् ।
युरोपेली नेताहरूले युक्रेनलाई आफ्नो भाग्य रोज्ने स्वतन्त्रता रहेको भन्दै युक्रेनलाई कूटनीतिक, सैन्य र आर्थिक रूपमा समर्थन गरिरहने कुरामा जोड दिएका छन् ।
ट्रम्प र पुटिनबीचको वार्तामा युक्रेनलाई अझै आमन्त्रित गरिएको छैन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बहिष्कारको बारेमा चिन्तित हुँदै युक्रेन विनाको कुनै पनि सम्झौता अमान्य हुने बताउनुभएको छ ।
यसैबीच पुटिन र जेलेन्स्कीसँग त्रिपक्षीय बैठक गर्न ट्रम्प इच्छुक भए पनि पुटिनको इच्छा अनुसार जुलाई १५ मा युक्रेन सहभागी नहुने भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।