
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकासे वर्षाको निर्भरता अन्त्य गरी तराइमा सिँचाइको स्थायी समाधान ल्याउने दिन अब टाढा नभएको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षको खडेरीले तराईमा रोपाइँमा देखिएको कठिनाइ, किसानको पीडा र सरकारको तत्काल तथा दीर्घकालीन समाधानका लागि गरिएका कदमबारे जानकारी दिनुभएको छ।
प्रधानमन्त्री ओलीका अनुसार तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम सुरु गरिएको छ भने दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइँदैछ।
यसवर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आउनु दुखद भएको प्रधानमन्त्रीले उल्लेख गर्नु भएको छ। ‘यसवर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो, जहाँ रोपाइँ भयो, त्यहाँ पनि पानीको अभावले रोपो मर्न थालेको थियो, किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेका बेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो, तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम सुरु गरिएको थियो, र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ’, उहाँले लेख्नु भएको छ।
प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा परेको वर्षाले तराइमा फेरि हरियाली फर्काउन थालेको उल्लेख गर्दै साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउने आशा व्यक्त गर्नुभएको छ । ‘पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ, वर्षाले फेरि हरियाली फर्काउन थालेको छ, यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४% क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ, र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ’, प्रधानमन्त्री ओली फेसबुकमा लेख्नु भएको छ।
आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको उहाँले स्पष्ट पार्नु भएको छ । ‘अब त्यो दिन धेरै टाढा छैन, किसानको मुस्कान, जमीनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्य-हाम्रो लक्ष्य हो, जय किसान !!’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।