
कास्की । पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि शुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी पहिलोपटक भर्ना खुलाएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डिन सह–प्राध्यापक बुद्धिराज जोशीले जानकारी दिनुभयो ।
विश्वविद्यालयले समयानुकूल नवीन प्रविधियुक्त विषयको पठनपाठन गराउने लक्ष्य अनुसार मेकानिकल इञ्जिनियरिङको पठनपाठन शुरु गर्न लागेको उहाँको भनाइ छ । विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय मेकानिकल इञ्जिनियरिङ शिक्षाको सुविधा उपलब्ध गराउने उद्देश्य रहेको भर्ना समितिका संयोजक सुरेश बरालले जानकारी दिनुुभयो ।
आउँदा दिनमा जलविद्युत्, ऊर्जा, औद्योगिक क्षेत्रलगायतमा मेकानिकल इञ्जिनियरको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । पाठ्यक्रमले आधुनिक प्रविधियुक्त अटोमेसन र रोबोटिक्स, इण्डस्ट्री ४.० र मेसिन लर्निङजस्ता क्षेत्रहरुलाई पनि समेटेको उपप्राध्यापक ऋषभ खनालले बताउनुभयो । विश्वविद्यालयले अनलाइन आवेदन माग गरिसकेको छ ।