
धरान । तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्याएको छ भने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् ।
राति करिब १ः३० बजे खसेको पहिरोले धरान-३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्याएको छ । भोटेले भने, “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो । बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो । हेर्दाहेर्दै घरको माथिल्लो भाग पुरियो र घर पूर्ण रूपमा क्षति भयो ।”
स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए। घटनापछि तत्कालै घटनास्थल पुग्नुभएका धरान उपमहानगरपालिका-३ का वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने बताउनु भयो ।
उहाँका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा छन् । वडा कार्यालयले हाल क्षतिको विवरण सङ्कलन गरिरहेको उहाँले बताउनुभयो । गत वर्ष धरान-३ को सोही क्षेत्रमा पहिरो जाँदा बस्ती जोखिममा परेको थियो ।
त्यसबेला वडाबाट रु. पाँच लाख र नगरपालिकाबाट रु. १४ लाख बजेट विनियोजन गरी पहिरो रोकथाम गरिएको थियो ।