२०८२ साउन २३, शुक्रवार , ०१:००:५६ बजे

Sajhamanch
'

थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता लम्ब्याउने सहमति

शुक्रवार, साउन २३, २०८२

झापा । थाइल्यान्ड र कम्बोडियाबीच गएको महिना सीमा क्षेत्रमा पाँच दिनसम्म चलेको युद्धपछि भएको अस्थायी युद्धविराम सम्झौतालाई लम्ब्याउने सहमति भएको छ ।

सीमावर्ती मन्दिरलाई लिएर लामो समयदेखि चलेको विवाद हिंसामा परिणत भएको थियो । युद्धमा कम्तीमा ४३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचारसंस्था एएफपीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ मध्यस्थकर्ताको एक टोलीको आग्रहपछि आसियान अध्यक्ष मलेशियाली प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविरामको मध्यस्थता गर्नुभएको थियो ।

सम्झौतामा अस्थायी युद्धविरामको लागि सहमति भएको थियो । प्रतिद्वन्द्वी क्षेत्रीय कमान्डरहरूको तीन दिनको वार्ता र छलफलपछि बैठकमा दुवै देशका रक्षा अधिकारीहरूले हिजो एक संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका हुन ।

विज्ञप्तिमा दुवै पक्ष सबै प्रकारका हतियारसहित युद्धविराम गर्न सहमत भएका छन । जसमा नागरिक र गैर–सैनिक वस्तुमाथि आक्रमण नगर्ने दुवै पक्षको सहमति छ ।

यो सम्झौता कुनै पनि हालतमा उल्लङ्घन नगर्ने समेत दुवै देशले प्रतिबद्धता जनाएका खबरमा भनिएको छ ।

थाइल्यान्ड र कम्बोडिया दुवैले युद्धविरामको पहिलो दिनमा एकअर्कालाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

सन् १९०७ मा कम्बोडियाका फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण विवादित मन्दिरहरूमा दुवै देशले दाबी गर्दै आएका छन् ।

गएको महिना भएको झडप त्यस क्षेत्रमा एक दशकयताकै सबैभन्दा घातक मानिएको छ । त्यसबेला दुवै देशका तीन लाखभन्दा बढी मानिस सीमा क्षेत्र छाड्न बाध्य भएका थिए ।

सम्बन्धित खबर