२०८२ साउन २२, बिहिवार , ०५:५६:०५ बजे

Sajhamanch
'

भारतमाथि अतिरिक्त करमा मात्र सीमित नहुने अमेरिकाको सङ्केत

बिहिवार, साउन २२, २०८२

झापा । भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै धेरै देख्न बाँकी रहेको बताउनुभएको छ । पहिले नै लागू भएको २५ र नयाँ २५ सहित भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएपछि पनि ट्रम्पले यतिमा नरोकिने सङ्केत गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पसँग पत्रकारले चीनसहित कयौं देश रुसबाट तेल खरिद गर्छन् तर भारतलाई नै किन निशाना बनायो ? भन्ने प्रश्न गरेका थिए । जवाफमा ट्रम्पले भन्नुभयो ‘अहिले त मात्र ८ घण्टा भएको छ । हेरौं अगाडि के हुँदै जान्छ । अझै धेरै देख्न बाँकी छ । कयौं अतिरिक्त प्रतिबन्धहरु देख्न पाउनुहुनेछ ।’

अमेरिकाले लगाएको थप कर कार्यान्वयनमा आएपछि अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने विशेषज्ञ बताउँछन् । उनीहरुका अनुसार भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले व्यक्तिगत रूपमा जुनसुकै मुल्य चुकाउनु परे पनि भारतीय किसान र मछुवारहरुको विरुद्धमा सम्झौता नगर्ने बताउनुभएको छ । दिल्लीमा आयोजित एक कार्यक्रममा उहाँले अमेरिकासँगको कुरा नजोडिकन किसानहरुको हित विपरित सम्झौता नगर्ने बताउनुभएको हो ।

अमेरिकाले भारतीय बजारमा कृषि क्षेत्रको व्यापार खुल्ला गर्न दबाब दिइरहेको छ । अमेरिकाले भारतमा ठूलो बजार देखेकोमा भारतले भने किसानको जिविका, खाद्य सुरक्षा र विउ संरक्षण जस्ता कुरालाई जोड दिएर कृषि क्षेत्रको बजार खुल्ला गर्न अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपती ट्रम्पले रुससँग तेल किनेको बिषय जोडे पनि मुख्य बिषय भारतको कृषि बजारमा पहुँच पुर्‍याउनु रहेको छ ।

सम्बन्धित खबर