२०८२ साउन २२, बिहिवार , ०३:००:३३ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीलाई निम्तो दिन आउँदै भारतीय विदेश सचिव मिश्री

बिहिवार, साउन २२, २०८२

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आगामी साउन ३१ गते (अगस्ट १७) नेपाल भ्रमणमा आउनु हुने भएको छ।

दुई दिने यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको टुंगो लगाउने छ । मिश्री एक वर्षको बीचमा दोस्रो पटक नेपाल आउन लाग्नु भएको हो ।

भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले मिश्रीको भ्रमण तालिका पुष्टि गर्नु भएको छ।

मिश्री काठमाडौँ आइपुगेपछि द्विपक्षीय परियोजनाहरूको प्रगतिबारे पनि समीक्षा हुनेछ । खासगरी भारतद्वारा लगानी गरिएका विकास आयोजनाहरूको प्रगतिबारे छलफल गर्ने कार्यक्रम राखिएको छ।

‘नेपालको निम्तोमा विदेश सचिव मिश्री साउन ३१ गते दुई दिने नेपाल भ्रमणमा आउनुहुनेछ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भन्नुभयो ।

भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी र विभिन्न विकास परियोजनाहरूको प्रगतिबारे छलफल गर्नु रहेको छ।

यो भ्रमणले दुई छिमेकीबीच भइरहेको कूटनीतिक संवादलाई निरन्तरता दिने छ । मिश्रीले नेपाल भ्रमणका क्रममा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिनु हुने छ ।

प्रधानमन्त्री ओलीले २०८१ असार ३१ गते तेस्रो पटक पदभार ग्रहण गरेपछि भारत भ्रमणमा जान सक्नु भएको छैन। ओ‌लीसँगको असन्तुष्टिका रुपमा समकक्षी नरेन्द्र मोदीले लामो समयसम्म निम्ता पठाउनु भएको थिएन।

त्यहीकारण ओली २०८१ मंसिर १७ गते चीन भ्रमणमा जानु भएको थियो । त्यहाँ बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क सम्झौतामा दुई देशबीच हस्ताक्षर भएको थियो ।

तेस्रो पटक प्रधानमन्त्री बनेको झन्डै १५ महिनापछि ओली भारत भ्रमणमा जानु हुदैं छ । मिश्रीको भ्रमणपछि ओलीको भारत भ्रमण आगामी भदौ अन्तिम या असोज पहिलो साताका लागि तय हुने अपेक्षा गरिएको छ ।

ओली दुई दिने भारत भ्रमणमा जाने तयारी यसअघि भएको थियो । तर उहाँको भ्रमण अवधि लम्बिन सक्ने बताइएको छ । मिश्रीको भ्रमणपछि प्रधानमन्त्रीको भ्रमणको मिति, कार्यसूची र प्राथमिकता तय हुनेछन् ।

सम्बन्धित खबर