२०८२ साउन २२, बिहिवार , ०४:०१:११ बजे

Sajhamanch
'

रुस र युक्रेनबीच वार्ताको राम्रो अवसर रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

बिहिवार, साउन २२, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच शिखर सम्मेलनको सम्भावना ‘राम्रो’ रहेको बताउनु भएको छ ।

ह्वाइट हाउसमा हिजो सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफले मस्कोमा पुटिनसँग गरेका कुराकानी सकारात्मक रहेको बताउनुभयो । उहाँले दुवै नेतासँग बैठकको ढोका खुला रहेको पनि बताउनुभयो ।

रुसी पक्षले वार्तालाई ‘रचनात्मक’ भने पनि विस्तृत विवरण नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । ट्रम्पले सामाजिक सञ्जालमार्फत युरोपेली नेताहरूसँग पनि छलफल गरिसकेको बताउनु भएको छ । सबैको साझा धारणा युद्ध अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि विटकफको भ्रमणबारे जानकारी भएको पुष्टि गर्नुभएको समाचारसंस्था एपीले जनाएको छ । युद्ध रोक्ने सम्भावनाबीच, रुसले युक्रेनका शहरहरूमा हवाई आक्रमण जारी राखेको छ ।

पछिल्लो हमलामा कीभमा ३२ जनाको ज्यान गएको छ । त्यसैबीच अमेरिका युक्रेनलाई थप २० करोड डलरको रक्षा सामग्री दिने तयारीमा छ ।

ट्रम्प–जेलेन्स्कीबीच ड्रोन र सुरक्षा सहकार्यबारे पछिल्लो संवाद भएको पनि खबरमा उल्लेख छ । तर विश्लेषकहरू शिखर वार्ताको चर्चा भए पनि तत्काल युद्ध अन्त्यका लागि ठोस सहमति नरहेको बताउछन ।