२०८२ साउन २२, बिहिवार , १०:१२:३४ बजे

Sajhamanch
'

घानामा हेलिकोप्टर दुर्घटना,रक्षा र वातावरणमन्त्रीसहित आठ जनाको ज्यान गयो

बिहिवार, साउन २२, २०८२

झापा । घानाको अशान्ति क्षेत्रमा हिजो भएको सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री र वातावरण मन्त्रीसहित आठ जनाको ज्यान गएको छ ।

यो पछिल्लो दशकयताकै घानामा भएको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक मानिएको समाचासंस्था एपीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा रक्षामन्त्री एडवार्ड ओमाने बोआमह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मद, सत्तारूढ नेशनल डेमोक्रेटिक कंग्रेसका उपाध्यक्ष सामुएल सर्पोङ, राष्ट्रिय सुरक्षा सल्लाहकार मुनीरु मोहम्मद, र चार जना चालक दलका सदस्य रहेका छन् ।

हेलिकोप्टर राजधानी आक्राबाट बिहान सुनखनन क्षेत्र ओबुआसीतर्फ जाँदै गर्दा रडारबाट सम्पर्कविहीन भएको थियो। केही घण्टापछि त्यसको भग्नावशेष अदांसी, अशान्ति क्षेत्रमा फेला परेको समाचारमा जनाइएको छ ।

सरकारले यो दुर्घटनालाई ‘राष्ट्रिय शोक’ को संज्ञा दिएको छ । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न रक्षामन्त्री बोआमहको निवास र पार्टी मुख्यालयमा शोकसन्तप्तहरूको भीड लागेको छ ।

घटनास्थलको भीडीओमा जङ्गलमा जलिरहेको हेलिकोप्टरको टुक्रा देखिन्छ । त्यहाँ स्थानीयहरू उद्धारका लागि प्रयासरत देखिन्छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

सेनाले छानबिन प्रक्रिया शुरू गरिसकेको जनाएको छ । सरकारी सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर Z9 मोडलको हो । यो सामान्यत यातायात र स्वास्थ्य आपतकालीन सेवाका लागि प्रयोग हुने गर्छ ।

सम्बन्धित खबर